कपिलवस्तु ।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको तेह्रौँ दिन आज (शनिबार) ६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा शुरु भएको हो ।
शनिबार रुपन्देहीको बुटवल महानगरपालिका–६ बाट २ जना, कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बाट १ जना र बुद्धभुमी नगरपालिका–२ बाट ३ जना गरि ६ जनाको उद्धार भएको छ । उद्धार गरिएका उनीहरु ६ जनालाई आज नै मानवसेवा आश्रम तिलोत्तमा सेवाकेन्द्रमा संरक्षणको लागि लगिएको छ ।
उद्धार टोली शनिबार कपिलवस्तु, तौलिहवा, कृष्णनगर, बुद्धभूमि क्षेत्रका विभित्र स्थानका सडकपेटीरसार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहका मानवहरुको उद्धार सेवामा खटिएको हो ।
असोज २८ गते झापाको मेचीनगरदेखि सुरु भएको यात्राको शनिबार तेह्रो दिनसम्मको अवधिमा १२६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । उद्धार भएकामा २९ महिला र ९६ पुरुषको सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।
आइतबार मेची–महाकाली उद्धार टोली दाङको भालुवाङ, लमही क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको बताइएको छ ।