बर्दघाट। 

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शुक्रबार १३ जना सडकआश्रित मानवको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शुक्रबार रुपन्देही बुटवल उप–महानगरपालिका–९ बाट ५ जना, देवदह नगरपालिकाबाट–७ बाट ४ जना र नवलपरासी पश्चिम सुनवल नगरपालिका–३ बाट २ जना, प्रतापपुर गाउँपालिका–२ बाट २ जना गरि १३ जना सडकआश्रित मानवहरुको  उद्धार भएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका हुन् । 

उद्धार गरिएका १२ जना पुरुष र १ जना महिलालाई शुक्रवारै मानवसेवा आश्रम रुपन्देहीको तिलोत्तमा सेवाकेन्द्रमा गृह प्रवेश गराइएको छ । राष्ट्रिय उद्धार टोली शुक्रबार रुपन्देही र  नवलपरासी पश्चिमका विभिन्न स्थानीय पालिकाका सडकपेटीमा अलपत्र अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा दिनभर खटिएको हो । 

राष्ट्रिय उद्धार टोली आज (शनिबार) कपिलवस्तु, तौलिहवा, कृष्णनगर क्षेत्रका  विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा खटिने कार्यक्रम तय भएको छ ।

उद्धार यात्राको १२ औं दिनसम्मको अवधिमा १२० जना सहयोगापेक्षी मानवहरुको उद्धार  गरिएको छ । उद्धार गरिएका २९ महिला र ९१ जना पुरुषको संख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् । 

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ । फाइतल तस्वीर