शनिश्चरे । 

पूर्वकै धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाम समितिले मनोमानि गरेको आरोप लागेको छ । कुनै कार्यक्रम गर्ने बेलामा धेरै पत्रकार बोलाउने र हिसाव सार्वजनिक गर्ने समयमा सुटुक्क आफ्ना नजिकका केही पत्रकार बोलाएर गर्ने गरेको भन्दै आवाज उठेको छ ।  

पूर्वको पशुपति नाथको नामले समेत परिचित जलेश्वरधामको ४२ औं बार्षिक अनुष्ठान आयोजनाका लागि आयोजित पत्रकार सम्मेलनमा केही असन्तुष्ट सञ्चारकर्मीहरुले त्यस्तो गुनासो गरेका थिए । सञ्चारकर्मी बिष्णु कूल श्रेष्ठले अनुष्ठान गर्नु अघि  धेरै पत्रकार बोलाउने र पुराण समापनपछि केही आफ्ना नजिकका पत्रकार बोलाएर हिसाव सार्वजनिक गरिने गरेको आरोप राखेका थिए । 

‘हिसाव सार्वजनिक गर्दा सुटुक्क एउटा मात्र पत्रकारलाई बोलाउनु हुन्छ ?’ सञ्चारकर्मी श्रेष्ठले प्रश्न गरेका थिए । उनले थपेका थिए ‘पैसा अर्थात कार्यक्रमको प्रचारप्रसारका लागि धेरै पत्रकार बोलाउने, हिसाव सार्वजनिक गर्ने बेलामा एउटा मात्र पत्रकार बोलाउने त्यस्तो हुँदैन ।’ जसरी अनुष्ठान लगाउन प्रचारप्रसारका लागि पत्रकार बोलाइन्छ त्यसैगरी हिसाव सार्वजनिक गर्नु पर्ने उनको भनाईको भाव थियो । 

आयोजकले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदै सवैलाई नै जानकारी गराउने बताएपनि केही आफ्ना पक्षका मात्र पत्रकार बोलाएर एउटा सञ्चार संस्थामा सूचना प्रकाशन गरेर हिसाव सार्वजनिक गर्ने गरेको छ । त्यस्तै अर्का पत्रकार इन्द्रबहादुर राईले पनि आय र ब्ययका बिषयमा जिज्ञासा राखेका थिए । 

जलेश्वर धाममा आगामी बालाचतुर्दशी अर्थात मंसीर ८ गतेदेखि ४२ औं अनुष्ठान आयोजना हुने भएको छ । महापुराण सम्पन्न गर्न बिभिन्न १९ वटा उप–समिति गठन गरिएको अध्यक्ष नबिन गट्टानीले जानकारी दिए । उक्त महापुराण सम्पन्न गर्न अनुमानित ९५ लाख ५० हजार रुपैंयाँ खर्च तथा २ करोड १६ लाख ८ हजार रुपैंयाँ आम्दानी हुने लक्ष्य राखिएको अध्यक्ष गट्टानीको भनाई छ । 

अनुष्ठानमा छिमेकी देश भारतसहित नेपालभरका भक्तालुजनहरुको उपस्थिति रहने बताइएको छ । बिश्वशान्ति तथा पितृ उद्धारको कामनासहित १०८ अष्टोतरशत आयोजना गर्न लागिएको समितिका अध्यक्ष गट्टानीले जानकारी दिएका छन् ।

उक्त अनुष्ठानबाट खर्च कटाएर रहेको रकम धामले स्थापना गरेको अक्षयकोषमा जम्मा गरिने उनले बताए । उनका अनुसार २ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ स्थापना गरिएको कोषमा हाल ५० लाख रहेको छ ।