विराटनगर ।

झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहारका २५ बर्षीय कौशल अली र कोशी गाउँपालिका–५ का २१ बर्षीय अरबाज आलमलाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । 

त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भद्रपुर–८ का २२ बर्षीय सुमित रोय र भद्रपुर–६ का २४ बर्षीय अभियान साहलाई १ ग्राम ३४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।  मोरङ कटहरी गाउँपालिका–४ का २० बर्षीय सुसान बस्नेतलाई ७ मिलिग्राम ब्राउन सुगरसहित लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर–१५ बाट पक्राउ गरेको हो । 

यसैगरी मोरङ, सुनसरी र पाँचथरबाट नियन्त्रित औषधीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उप–महानगरपालिका–५ स्थित अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–५ का ३० बर्षीय सुबास राई र १८ बर्षीय सुदिप कार्कीलाई ट्रामानिल १ हजार ८ सय ८० क्याप्सुल र स्पारेस्ट १ हजार ७ सय ५० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका–१३ का ३६ बर्षीय अर्जुन कुमार बर्देवालाई ट्रामाडोल १ सय १७ ट्याब्लेटसहित र इलाका प्रहरी कार्यालय रानीले नाईट्राभेट ३६ चक्की सहित बिराटनगर–५ का २२ बर्षीय दिपेश शर्मालाई पक्राउ गरेको छ । नियन्त्रित औषधी र ब्राउन सुगरसहित पक्राउ गरिएका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।