झापा । 

बंगालको खाडीमा विकसित चक्रवातको केही असर कोशी प्रदेशमा हुने देखिएको छ । नेपालमा अन्य प्रदेशमा प्रत्यक्ष असर नपरेपनि त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने मौसमविदले बताएका छन् । 

‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको थियो । यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ ।

प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ । हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

दाना चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादल मात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ । तर अन्य स्थानमा खासै वर्षाको सम्भावना नरहेको बताइएको छ । 

‘दाना चक्रवातले उछ्ट्याएको बादलले गर्दा कोशी प्रदेशमा चाहिँ सामान्य प्रभाव देखिएको र मधेश र बागमती प्रदेशमा हल्का बादल लागे पनि कोशी प्रदेशमा जस्तो वर्षा नहुने मौसमबिदको भनाई छ ।