झापा । 

सरकारले इजरायलका लागि छनौट भएका नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको छनोट १४ असोजमा चिठ्ठा प्रणालीबाट गरिएको थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इजरालयमा जाने नेपाली श्रमिकहरुको सुरक्षा सुनिश्चित भएपछि मात्रै पठाउने प्रक्रिया थाल्ने बताएका छन्। इजरायल पछिल्लो एक वर्षयता समयदेखि प्यालेस्टाइनको हमाससँगको युद्ध लडिरहेको छ । पछिल्लो समय इजरायल–इरानबीच युद्ध चर्कंदो छ । दुवैले एक अर्कालाई लक्षित गरी क्षेप्यास्त्रहरु प्रहार गरिरहेका छन् । लेबनानसँग पनि इजरायल युद्धमा छ ।

निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरु त्रसित अवस्थामा छन् । यस्तो बेलामा सरकारले भने रोजगारीका लागि थप नेपालीलाई त्यहाँ पठाउने तयारी गरेपछि त्यसको आलोचना भएको थियो ।

केयर गिभरको काम गर्न इजरायलले गोला प्रथाबाट छनोट गरेका नेपालीमा एक हजार १५६ महिला र पुरुष ९५६ छन् । छनोट भएका श्रमिकलाई पठाउन स्वास्थ्य परीक्षणपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिनुपर्छ । तर, अहिले विभाग यी प्रक्रिया अघि बढाइहाल्ने पक्षमा देखिदैन । 

हाल इजरायलमा करिब ४५ सय नेपाली रहेको अनुमान छ । त्यहाँ लेबनान र इरानले गरेको आक्रमणका कारण नेपालीहरु त्रासमा छन् । युद्ध चर्किएमा विगतमा जस्तै नेपालीहरु उद्धार गर्न समेत तयार हुनुपर्ने भएकाले सरकारले केही समय श्रमिक नपठाउने नीति बनाएको हो ।