झापा।

झापा कमल गाउँपालिकाको कर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग पिडीत पक्षसँगको चार बुँदे सहमतिपछि सुचारु भएको छ ।

पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि अहिले बिहान ५ बजेदेखि राजमार्ग खुलेको  हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं– ३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको रोहवरमा वडाध्यक्ष कोइराला, पीडित पक्ष, नागरिक समाज र प्रहरी प्रशासनलगायत करिब २० जनाको उपस्थितिमा सर्वपक्षीय बैठक ४ बँुदे लिखित सहमति गरेको छ ।

पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिलाउनका प्रयत्न गर्ने , जनप्रतिनिधि तथा प्रशासनको संयुक्त पहलमा दोषी चालकमाथि कार्वाही लागि माग गर्ने , त्रिपक्षीय सहमतिलाई कार्यान्वयन गर्ने र कानुनी प्रकृया पुरा गर्नका लागि भइरहेको अवरोध हटाई अगाडि बढ्ने सहमति भएको जनाइएको छ ।

उक्त सहमति गरेपश्चात् आज बिहान ३ः५० बजेदेखि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र मुचुल्काको कार्य शुरु गरेको थियो । प्रहरीले बिहान ५ बजे मृतकहरुको शव मे १ च १३३३ नम्बरको एम्बुलेन्समा राखी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ । सहमति भएपछि बिहान ५ः०५ बजेदेखि पूर्वपश्चिम राजमार्ग सुचारु भएको र हालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नं को रात्रिबसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा मनोज इजमकी अन्दाजी ९ वर्षकी छोरी कृपा इजम र उनका बुवा ६० वर्षीय टेकबहादुर इजमको मृत्यु भएको थियो ।  ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको थियो । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरेका थिए ।

भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले केर्खामा दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । जनपद प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको थियो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ५ जना घाइते भएका छन् ।