झापा। 

झापाको कमल गाउँपालिकास्थित केर्खामा रात्रिबसको ठक्करबाट दुई जनाको मृत्युपछि आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी गरेका छन् । बसको ठक्करले हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयहरुले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन् ।

करिव हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् ।

असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन् । काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ का हुन् । मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएको खुलेको छ । ती बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए ।

बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा रात्रि बसले ठक्कर दिएको हो । बर्थडे केक र मासु सडकभरि छरपष्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ । घटना स्थल तनावग्रस्त रहेको बुझिएको छ ।