बिर्तामोड। 

महिला पत्रकारको क्षमता र दक्षता अभिबृद्वि गर्ने उद्देश्यले १२ वर्षअघि स्थापना भएको नारी सञ्चार गृहमा लेखनबृत्ति स्थापना भएको छ । संस्थाका निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले महिलाहरूको महान चाड तीज पर्वको महत्व, ऐतिहासिकता, मौलिकता, उपलब्धि लगायत सकारात्मक पक्षलाई उजागर गर्ने प्रकृतिको लेख तथा खोजमूलक समाचार सम्प्रेषण गर्ने मध्ये उत्कृष्ट एक जना महिलालाई प्रदान गर्ने गरि लेखनबृत्तिको घोषणा गरेकी हुन् ।  

संस्थाको १३ ओैं स्थापना दिवसका अवसरमा निवर्तमान अध्यक्ष शिवाकोटीले घोषणा गरेकी लेखनबृत्तीलाई संस्थाको मंगलबार बसेको कार्यसमितिको नियमित बैठकले संस्थागत रूपमा ग्रहण गर्ने निर्णय गरेको छ।

संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा बसेको बैठकले लेखनबृत्ती प्रदानका लागि आवश्यक विधिबारे दातासँग समन्वय गर्ने निर्णय भएको संस्थाका सचिव मायामितु न्यौपानेले जानकारी दिइन् । शिवाकोटीले आफू जिवीत रहुञ्जेलसम्म प्रत्येक वर्ष एकजना महिला पत्रकारलाई प्रदान गर्नेगरी नगद पाँचहजार रूपैयाँ लेखनबृत्ति घोषणा गरेकी हुन् ।  

पछिल्ला केही वर्षयता तीज पर्वबारे नकारात्मक टिप्पणी बढी हुन थालेपछि महिलाहरूको महानपर्वका सकारात्मक पाटा समेत उजागर गर्ने उद्देश्यले लेखनबृत्ति प्रदान गर्न लागेको बताइन् । 

संस्थाले ११ ओै बार्षिक साधारणसभाले संस्थाको अक्षयकोषको लक्ष्य पूर्ण नभएसम्म महिला पत्रकारको क्षमता अभिबृद्विमा लागि स्रोतको खोजी गरी लेखनबृत्तिका लागि पहल गर्ने लक्ष्य राखेको थियो। एकवर्षमा नारी संञ्चार गृहको समन्वयमा लेखनबृत्ति बापत दुइजनालाई जनही पाँच÷पाँच हजार रूपैयाँ प्रदान गरिएको बताइएको छ । 

संस्थाको १२ ओै साधारणसभामा सहसचिव जोस्ना श्रेष्ठले पत्रकारिता गरेवापत आफूले प्राप्त गरेको पुरस्कार राशीको २० प्रतिशत (५०००) रकम लेखनबृत्ति प्रदान गरेकी छिन् ।  चुनौतिपूर्ण मानिएको पत्रकारितामा संलग्न महिलाहरूको उत्प्रेरणा बढोस् भन्ने हेतुले संस्थामार्फत लेखनबृत्ती प्रदान गरेको श्रेष्ठले बताइनु । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालले आफ्नो जन्मदिनको अवसर पारेर सोही राशीको लेखनबृत्ती प्रदान गर्दै उक्त कार्यलाई आगामी ५ वर्षसम्म निरन्तरता दिने बताइन् । 

संस्थाले २०७५ सालदेखि बहुउद्देश्यीय लक्ष्य राखेर ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले रकम संलकन गर्दै आएको बताइएको छ । कोषमा हालसम्ममा ४७ लाख रूपैयाँ संकलन भएको अक्षयकोष बृद्वि तथा परिचालन समितिका संयोजक तथा संस्थाका सहसचिव जोस्ना श्रेष्ठले जानकारी दिइन् । कोषलाई आगामी चैत मसान्तसम्ममा पूर्णता दिने संस्थागत संकल्प रहेको अध्यक्ष गौतमले बताइन् ।