बिर्तामोड । 

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले झापाको बिर्तामोडमा आज (बुधवार) पत्रकारसँग अन्तरक्रिया गरेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यीयले झापाली पत्रकारसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको हो । 

नेपाल बीमा प्राधिकरणका प्रमुख बिनोदकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

प्राधिकरणका प्रमुख पोखरेल बीमाको आवश्यकता र महत्व, बीमाको प्रकार, प्राधिकरणको परिचय, काम, कर्तव्य रअधिकार, सरोकारवालाहरु, बीमा गर्दा ध्यान दिनु पर्ने कुराहरु, उजुरी गर्न सकिने बारेमा सहजीकरण तथा जानकारी गराएका थिए । 

उनले पछिल्लो समय सरकारले नै सवैको बीमामा जोड दिएकाले प्राधिकरणले स्थानीय तह, बिभिन्न संघ/संस्था, सरोकारवाला निकाय तथा ब्यक्तिहरुलाई जानकारी गराउने उदेश्यले छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताए । 

कार्यक्रममा झापाली पत्रकारसहित बिभिन्न बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणकी कोशी सहायक निर्देशक पुष्पा खनालले गरेकी थिइन् ।