पाँचथर। 

गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण पाँचथरको फिदिम बजार आसपासको क्षेत्र जोखिमपूर्ण बनेको छ । जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिराका कारण जोखिममा परेका हुन् ।

फिदिम आसपासका क्षेत्रमा पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि त्यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन् । यसअघि पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीयवासी त्रासमा छन् ।

बजार नजिकको सुन्तलीचोकमा सडक माथिबाट ठूलो पहिरो झरेको थियो । यो पहिरोले ठूलो क्षति नगरे पनि पहिरोमाथिको जमिन लच्किएको छ भने सडक केही तलको जमिन दबिएको स्थानीय बताउँछन् । फिदिम नगरपालिका–७, ८ र १३ लाई सदरमुकामसम्म जोड्ने फिदिम–रानीटार–लुङरुपा सडकमा पहिरो झरेर थुप्रिएको छ । 

सानाठूला ढुङ्गा घर अगाडि थुप्रिएका छन् । वर्षा कम भएकाले स्थानीयवासी घरमा फर्किन थालेका बताउँदै स्थानीय चन्द्रप्रसाद सारु मगरले वर्षा भइञ्जेल विस्थापित भएको बताए । जिल्लास्थित नेपाल पत्रकार महासङ्घको शाखाको भवन पनि पहिरोको जोखिममा परेको उनले जानकारी दिए । 

सो क्षेत्रमा १७ परिवारको बसोबास रहेका मध्ये नौ परिवार पहिरोको त्रासमा बस्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।  फिदिम नगरपालिका–२ रमिते, फिदिम बजारको चौतारेडाँडा, गैरीबारी तथा साभ्राङ आसपासमा पनि सानोठूलो पहिरो झरेको छ ।  फिदिम–१ गैरीबारी, फालेलुङ गाउँपालिका–५ प्राङ्बुङलगायतका स्थान पहिरोको उच्च जोखिममा छन् । 

अविरल वर्षापछिको बाढीका कारण फस्के जमिन रहेको फिदिम आसपासका धेरै क्षेत्र जोखिममा परेको फिदिम–१ का वडाध्यक्ष गजाधर भट्टराईले जानकारी दिए । उनले यस वर्ष जनधनको क्षति भएको बताउँदै पाँच जनाको ज्यान गुमाएको र १५ घर विस्थापित भएको बताए ।  तीन सयभन्दा बढी घर तथा संरचनामा क्षति भएको उनको भनाई छ ।  फिदिम बजार आसपासको क्षेत्रका माटो कमजोर रहेको र जुनसुकै विपद्मा पनि जोखिम हुने गरेको वडाध्यक्ष भट्टराईले बताए। 

फिदिममा जिल्ला प्रहरी कार्यालयदेखि गैरीबारी, शिवालय मन्दिर, माथिल्लो गाउँ, ट्राफिक कार्यालय र ओदिनसम्म यसप्रकारको माटो रहेको र वर्षात् तथा भूकम्पमा घर भत्किने, चर्किने गरेको वडाध्यक्ष भट्टराईले जानकारी दिए । बजार क्षेत्रका धेरै संरचना जोखिमपूर्ण भएपछि भविष्यमा सुरक्षित बसोबासका लागि पहिरो रोकथामका पूर्वाधार निर्माण तथा सुरक्षित स्थानमा आवास निर्माणमा सबैपक्षले जोड दिनुपर्ने उनले उल्लेख गरे । 

सदरमुकामका अधिकांश संरचना रहेको वडा नं १ मा अहिलेसम्म पनि क्षतिको यकीन विवरण सङ्कलन हुन नसकेको वडाध्यक्ष भट्टराईले जानकारी दिए। अहिले क्षतिको विवरण यकीन गर्नेसँगै राहत वितरणको प्रक्रिया पनि अघि बढाइरहेको उनले जानकारी दिए ।संकेत तस्वीर