झापा ।

पछिल्लो समय कोशी प्रदेशमा लागू औषधको कारोवार वढेको छ । दैनिक जसो १० देखि १५ जना बढी लागू औषध प्रयोगकर्ता र कारोवार गर्ने पक्राउ पर्नुले पनि कोशी प्रदेशमा लागू औषध कारोवार बढेको पुस्टि हुन्छ । लागू औषध पक्राउ पर्नेमा झापा, मोरङ, उदयपुर, इलाम, सुनसरीलगायतका जिल्लामा वढी देखिएको छ । यसै क्रममा गएराति मोरङ, उदयपुर, सुनसरी, भोजपुर जिल्लाबाट मात्र १४ जना लागू औषधमा पक्राउ परेका छन् । 

मोरङ र उदयपुरबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ४ गते अपरान्ह मोरङको रतुवामाई नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  झापा कमल गाउँपालिका–५ का ४० बर्षीय संजय लिम्बु, दमकका २३ बर्षीय राजिब भुजेल, २३ बर्षीय अर्जुन लिम्बु, मोरङ पथरीशनिश्चरे–५ का ३१ बर्षीय डेबिड खड्का र ३५ बर्षीय हेम बहादुर लिम्बुलाई ५ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका(९ बाट सुनसरी भोक्राहा गाउँपालिका–३ का २४ बर्षीय राजारोहित यादव र २१ बर्षीय अनिस  शर्मालाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । 

यस्तै सुनसरी, भोजपुरबाट नियन्त्रित औषधीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा गएराती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९ सय ५० क्याप्सुल, स्पास्पेन १ हजार ३ सय ५० चक्की र डिकोलिक ७० चक्की सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान–१५ का २२ बर्षीय गौरव चौहान, २० बर्षीया स्मृती राई, १८ बर्षीय सुजल सुन्दास, २२ बर्षीय युगल राई, धरान–१७ का १९ बर्षीय बिशेष राई र खोटाङ घर भई धनकुटा बस्दै आएकी २४ बर्षीय निरु राई रहेका छन् । 

 त्यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका–१ बाट डिकोलिक ५० र ट्रामानिल ५० चक्की सहित धरान–१६ का २४ बर्षीय रोहन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय घोडेटारले पक्राउ गरेको छ । पक्राउ गरिएको उनीहरुको सम्बन्धीत प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।