झापा । 

मलेशिया सरकारले विदेशी कामदारको पारिश्रमिकमा घोषणा गरेको छ । मलेशियामा विभिन्न क्षेत्रमा कार्यरत कामदारहरुले हाल पाउँदै आएको न्यूनतम मासिक पारिश्रमिक एक हजार पाँच सय रिंगेटमा दुई सय रिंगेट थप गरेर एक हजार सात सय रिंगेट पुर्‍याउने घोषणा गरेको हो । 

तलब वृद्धिपछि मलेशियामा काम गर्ने नेपाली कामदारले मासिक न्यूनतम नेरु ५३ हजार ४३ रूपैयाँ  पाउनेछन् । हाल उनीहरूले ४६ हजार ८ सय पाउँदै आएका छन् । मलेशियामा सेष्टेम्बरको अन्तिमसम्म तीन लाख ९९ हजार ६ सय १४ जना नेपाली कार्यरत रहेका छन् । पारिश्रमिक वृद्धिपछि नेपालमा हाल मलेशियाबाट नेपाल आइरहेको रेमिट्यान्समा प्रति महिना २ अर्ब ५० करोड र वार्षिक ३० अर्ब रूपैयाँ वृद्धि हुनेछ ।  

मलेशियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर बिन इब्राहिमले अक्टोबर १८ अर्थात गत शुक्रबार मलेशियाको संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै निकायसँगको सहमतिमा तलब वृद्धिको निर्णय भएको बताएका थिए ।

वृद्धि भएको नयाँ न्यूनतम पारिश्रमिकको निर्णय आउँदो वर्ष सन् २०२५ फेब्रुअरी १ तारिखदेखि पूर्णरुपमा लागू गर्न–गराउन गृह मन्त्रालय र श्रम मन्त्रालयसँगको सहकार्यमा सबै रोजगारदाता कम्पनीलाई  निर्देशन दिइसकिएको उनले बताएका छन् । तर, पाँच जना भन्दा कम कामदार रहेका साना रोजगारदाताले भने आगामी बर्ष अगष्टदेखि मात्रै नयाँ तलब लागू गर्न पाउने छुट पाएका छन् ।