सन १९९२ मा जन्मिएको Nepal English Language Teachers' Association (NELTA) आज ७ वटै प्रदेश र ५९ वटा जिल्लामा विस्तार भैसकेको छ । देशैभरिका सबै शिक्षण संस्थाहरुमा अङ्ग्रेजी शिक्षण गर्ने सबै अङ्ग्रेजी शिक्षकहरूको पेशागत दक्षता वृद्धि गर्ने प्रमुख उद्देश्य बोकेर स्थापना भएको सबै अङ्ग्रेजी शिक्षकहरूको साझा पेशागत संगठन नेल्टाले सन २०२४ मा ३२ वर्षको उमेर पार गर्दा उक्त संस्थाले आफ्नो उद्देश्य धेरै हदसम्म पूरा गर्दै आएको मेरो आफ्नो अनुभुति छ । 

नेल्टा ४ वर्षको हुँदा सन १९९८ मा उक्त संस्थाको आजीवन सदस्य बन्ने सुनौलो अवसर प्राप्त भएको थियो मलाई । यसरी विगत २८ वर्षदेखि मसँग औपचारिक रुपमा साइनो गासिएको एक प्रिय सङ्गठन नेल्टाले हरेक वर्ष आयोजना गर्दै आएका हरेकजसो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै आउदा प्रभावकारी अङ्ग्रेजी भाषा शिक्षणका सवालमा ती सम्मेलनहरुले प्रदान गरेका अत्यन्तै पौष्टिक खुराकले मेरो प्राज्ञिक जीवनमा पारेको प्रभाव त म यो छोटो टिप्पणीमा उल्लेख गर्नै सक्दिन । 

नेल्टाले नै हरेक वर्ष प्रकाशन गर्दै आएको नेल्टा जर्नल र अन्य प्रकाशनले ती खुराकको सार संक्षेप र अन्य जल्दाबल्दा विषय पाठकवर्गसामु पस्कदै आएको कुरा सबैलाई जगजाहेर नै छ । ३२ वर्षे नेल्टाका ७ वटा प्रदेश स्तरीय शाखा मध्ये पनि कोशी प्रदेशको चौथो प्रादेशिक सम्मेलनका सम्बन्धमा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईको अन्तर्वार्ता (जुन अन्तर्वार्ताको भिडियो यो टिप्पणीको पहिलो कमेन्टमा हेर्न र सुन्न सकिनेछ) सुनेपछि नेल्टा आफ्नो जन्मकालदेखि नै आफ्ना उद्देश्य पूरा गर्न दृढतापुर्वक लागिरहेको रहेछ भन्ने कुरा गहिरोसङ्ग अनुभुति भयो । त्यसपछि मलाई नेल्टाको उदयसङ्ग प्रसङ्ग जोड्दै नेल्टा कोशीको आसन्न सम्मेलनका बारेमा यो संक्षिप्त टिप्पणी गर्न मन लाग्यो । नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपालले सेयर गरेको उक्त अन्तर्वार्ता सुनेपछि मेरा मनमा जे जस्ता कुरा उत्पन्न भए तिनै कुरा निम्न ३ बुदामा समेटेर यहाँहरु समक्ष सेयर गर्न मन लाग्यो । 

१) विगतमा नेल्टाले अधिकाङ्स अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौ र ललितपुरमा आयोजना गर्‍यो भने केही सम्मेलन पोखरा र हेटौंडा लगायतका स्थानमामा समेत आयोजना गर्‍यो । ती सबैजसो अन्तर्राष्ट्रिय सम्मेलनको झल्को यो प्रादेशिक सम्मेलनले समेत प्रदान गर्नेरहेछ कि के हो भन्ने अनुमान गर्न उक्त अन्तर्वार्ताले मलाई चाहिँ बाध्य नै बनायो । मेरो यो अनुमान कार्तिक २४ र २५ गते झापा जिल्लाको सुन्दर नगरी दमकमा सम्पन्न हुने सम्नेलनले सहि सावित गर्नेछ भन्ने कुरामा कम्तिमा म चाहिँ ढुक्क जस्तै छु । 

२) पेशागत दक्षता हासिल गर्न हरेक शिक्षक नेल्टाजस्तो स्वयंसेवी भावनाले ओतप्रोत संगठनसङ्ग जोडिन सक्नुपर्छ भन्ने सन्देश उक्त अन्तर्वार्ताले प्रवाह गरेको छ, जुन कुरा नेल्टाको एउटा प्रमुख विशेषता नै हो । कोशी प्रदेशमा मात्र नभएर देशैभरि त्यति महत्वपूर्ण सन्देश छर्न सफल उक्त अन्तर्वार्ताले शिक्षण पेशाप्रति प्रतिबद्ध हरेक शिक्षकलाई उक्त सम्मेलनमा सहभागी हुने निकै मीठो भोक जगाएजस्तो लाग्यो, एउटा नवीन जोश, जागर र उत्साह प्रदान गरेजस्तो लाग्यो । सम्मेलनलाई सभ्य र भव्य ढंगले सफल पार्न विशेष गरेर झापा जिल्लाका सबै पालिका लगायत कोशी प्रदेश र देशैभरिका सम्पुर्ण सरोकारवालाको ध्यान खिच्न उक्त अन्तर्वार्ता एकहदसम्म सफल भएजस्तो लाग्यो । 

३) विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षकहरूलाई एकै ठाउँमा भेला गरेर प्रभावकारी अङ्ग्रेजी शिक्षणका सम्बन्धमा विभिन्न विचार विमर्श गर्ने विशिष्ट विशेषता बोकेको नेल्टाको यो विशिष्टतालाई यो प्रादेशिक सम्मेलनले दरोसङ्ग पक्रने रहेछ भन्ने कुरा पनि उक्त अन्तर्वार्ता सुनेपछि मलाई चाहिँ गहिरोसङ्ग नै अनुभुति भयोस जुन कुरा आजको एउटा अनिवार्य आवश्यकता र वर्तमान समयको जल्दाबल्दो माग नै बन्दै गएको छ । गुणस्तरीय शिक्षाको बलियो जग विद्यालय शिक्षाले तयार गर्छ भने त्यहि जगमा बलियोसङ्ग अडिएर सुन्दर कोठा थप्ने र छानो लगाउने काम विश्वविद्यालय तहको शिक्षाले गर्छ । दुवै तहका शिक्षकहरूलाई एकै ठाउँमा भेला गरेर तिनका ज्ञान, सीप र अनुभव घोलघाल गरी त्यो बलियो जग, सुन्दर कोठा र छानालाई चम्काएर टिलिक्क टल्काउने जस्तो निकै चुनौतीपूर्ण काम विगत ३२ वर्षदेखि नेल्टाले गर्दै आएको छ । नेल्टाको त्यो गौरवपुर्ण इतिहासको शाख उक्त प्रादेशिक सम्मेलनले थप उकास्नेरहेछ भन्ने अनुभुति उक्त अन्तर्वार्ता सुन्ने जोकोहीलाई स्वतः हुन्छ जस्तो लाग्छ । 

पहिलो–पटक उक्त अन्तर्वार्ता सुन्दा मेरा मनमा उत्पन्न भएका मुलतः यी ३ कुरा आज यहाँहरुसङ्ग सेयर गर्न मन लाग्यो । उक्त अन्तर्वार्ताका सम्बन्धमा मेरो यो नितान्त व्यक्तिगत बुझाइ र प्रतिक्रिया हो । उक्त अन्तर्वार्ता सुनेपछि यहाँहरुलाई फरकफरक अनुभुति हुन सक्छ, जुन अत्यन्तै स्वाभाविक कुरा हो । तर सबै दर्शक र श्रोताका लागि धेरै कुरा फरक लागेपनि एउटा बुझाइ चाहिँ सबैको समान नै होला भन्ने मेरो अनुमान छ । त्यो भनेको आफ्नो शिक्षण पेशालाई तिखार्न र निखार्न आतुर पेशाप्रति प्रतिबद्ध कोशी प्रदेशका अङ्ग्रेजी शिक्षकहरूका लागि २०८१ साल कार्तिक २४ र २५ गते एउटा सुनौलो अवसर बनेर आएको छ । उक्त अवसरको भरपुर उपयोग गर्न पेशाप्रति प्रतिबद्ध सबै शिक्षक सम्मेलनमा सकृयतापुर्वक सहभागी हुनेछन् । 

आआफ्ना पेशागत अनुभव र अनुभुति खुलेर सेयर गर्नेछन् । सम्मेलनका क्रममा हुने हरेक छलफल, वहस, अन्तर्कृया र प्रस्तुतिमा बिना कुनै हिच्किचाहर सकृयतापुर्वक भाग लिनेछन् । यसरी कोशी प्रदेशका जतिसक्दो धेरै अङ्ग्रेजी शिक्षकहरू उक्त प्रादेशिक सम्मेलनमा सक्रिय रुपमा सहभागी भएर शिक्षण पेशालाई थप तिखारौ । शिक्षण पेशाको मर्यादा उचो राख्न जमेरै वहस गरौं । उक्त अन्तर्वार्तामै भनिए जस्तै अङ्ग्रेजी शिक्षणमा मात्र नभएर गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा नै नेल्टाले महत्त्वपूर्ण भुमिका खेल्न सक्नेरहेछ भन्ने सन्देश प्रवाह गर्न कुनै कसर बाकी नराखौ । 

यति मननीय सन्देश प्रवाह गर्न सक्ने र समग्र नेल्टा एवं नेल्टा कोशीको आसन्न प्रादेशिक सम्मेलनका बारेमा मलाई पनि यो टिप्पणी गर्न उत्प्रेरित त्यति सुन्दर अन्तर्वार्ता दिनुभएकोमा नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईलाई हार्दिक बधाई । त्यो सुन्दर अन्तर्वार्तालाई सेयर गरी हामी सबैले सहजै हेर्न र सुन्न्न सक्ने अवसर प्रदान गर्नुभएकोमा नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपाललाई मुरीमुरी धन्यवाद । नेल्टाको चौथो कोशी प्रदेश सम्मेलन सबै सरोकारवालाले एकीकृत रुपमा भब्यतापुर्वक सफल पारौं । हार्दिक शुभकामना ।