जनकपुर । 

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा शुरु गरेको यात्राका क्रममा सडक पेटीमा आश्रित मानिसहरुको उद्धार गरिएको हो । 

 मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शनिबार लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि  सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट–१ बाट २ जनाको उद्धार भएको हो ।

मेचीनगरदेखि शुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म पुग्दा ६८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् । 

उद्धार भएका ८ जना पुरुष र ३ जना महिलालाई शनिवारै  मानवसेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ । उद्धार टोली आज (आइतबार) जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा खटिने कार्यक्रम रहेको जनाइएको छ ।