हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले उन्नत जातको तोरी र गहुँको बिउ कृषकलाई अनुदानमा बितरण गर्ने भएको छ । पालिकाकाले दोस्रो पटक सूचना गरेर पालिकाभित्रका कृषक, कृषि फर्म, समुहलाई उन्नत जातको बिउ वितरण गर्न लागेको जनाएको हो । 

हल्दीबारी गाउँपालिका अन्तरगत कृषि विकास शाखाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार तोरी बालीको उन्नत बीउ प्रयोगमा मूल्य अनुदानमा बीउ बितरण कार्यक्रम सञ्चालन गरिन लागेको हो ।  

गहुँको उन्नत बिउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तरगत ५० प्रतिशन अनुदान र तोरीको उन्नत बिउ प्रयोगमा मूल्य अनुदान कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा दुवै उन्नत जातको बिउ बितरण गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए ।  

त्यस्तै संघ, प्रदेश तथा स्थानीय तहको सम्बन्ध तथा सहकार्यमा गुणस्तरीय बीउ विजनको उत्पादन आपुर्ति तथा वितरण प्रणालीको सुदृढ बनाउन र गहुँको उन्नत बीउ उपयोग तथा स्वदेशी जातको बीउ प्रवर्द्धन गर्न स्वीकृत बीउविजन उत्पादन आपुर्ति तथा व्यवस्थापन निर्देशिका २०७८ बमोजिम आर्थिक बर्ष २०८१/०८२ मा संघीय शसर्त बजेट मार्फत कार्यक्रम र बजेट विनियोजन भएको हो । 

उन्नत जातको तोरी र गहुँको बीउ लगाउन इच्छुक कृषक समुह÷कृषि सहकारी र उद्यमी कृषकहरुबाट माग निवेदन पेश गर्न पालिकाले ७ दिने सार्वजनिक सूचना जारी गरेको हो । 

पालिकाले आगामी कार्तिक ७ गतेसम्म आवश्यक कागजातसहित निवेदन दिन सवै कृषकलाई आग्रह गरेको छ । रित नपुगी वा म्याद नाघी प्राप्त भएका माग निवेदन उपर कुनै कारवाही नहुने सूचनामा उल्लेख छ ।  जाकारीका लागि कृषि विकास शाखा वा वडा कार्यालयमा सम्बन्धित कृषि प्राविधिकसँग सम्पर्क गर्न सकिने पालिकाले जनाएको छ ।