राजविराज ।

 मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेश अन्तर्गत सप्तरीबाट १३ जनाको उद्धार भएको छ । यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा शुरु भएको थियो । उद्धार यात्रा अन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६  बाट ३ जना र  वडा–१ बाट १ गरि ८ जना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट ५ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका ११ जना पुरुष र २ जना महिलालाई मानवसेवा आश्रम सर्लाही सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ ।  उद्धार टोलीले आज (शनिबार) लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार सेवा गर्नेछ । 

उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिहरुद्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतनामूलक र्‍याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकामा जम्मा भई राष्ट्रिय उद्धार यात्राको उद्देश्यबारे जानकारी गराइएको थियो ।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले चाडपर्वको समयमा सडकआश्रित मानवहरुको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथ यात्रा शुरु गरिएको बताएका छन् । उनले सहयोगका लागि सरोकारवाला सबैलाई आग्रह समेत गरेका छन् ।  

उक्त कार्यक्रममा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइराला, जसपाकी केन्द्रीय सदस्य रमिलादेवी साहलगायतका उपस्थित रहेको थियो ।