विराटनगर ।

सुनसरी, भोजपुर र धनकुटाबाट लागू औषध ब्राउन सुगरसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार सुनसरीको कोशी गाउँपालिका–१ मा इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहित कुमार मण्डल, ईटहरीका ३६ बर्षीय अग्रदिप चौधरी र ३० बर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । 

त्यसैगरी प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका–१ बाट पैदल यात्री स्थानीय २५ बर्षीय फुर्वा तामाङ, २७ बर्षीय छितेन तामाङ, २७ बर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका–९ का २८ बर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । 

त्यस्तै भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारमा बा. ३ ख २५४९ नम्बरको बसलाई प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका–९ का २५ बर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।