झापा । 

असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या भदौको तुलनामा केही घटेको छ । वैदेशिक रोजगार विभागको मासिक प्रगति विवरणअनुसार असोज महिनामा  ५३ हजार ५२५ नेपाली युवायुवती  वैदेशिक रोजगारीका लागि गएका छन् । त्यसमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला रहेका छन् ।

असोजमा म्यानपावर कम्पनी मार्फत २४ हजार  ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ ८ हजार ९ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेहरु भने १९ हजार ३ सय ५६ जना रहेका छन् । सबै  प्रक्रियाबाट असोजमा  ५३ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् ।

गतबर्ष असोजमा ३१ हजार ३ सय ६८ जनाले  श्रम स्वीकृति लिएका थिए । विभागको तथ्यांक अनुसार असोजमा अघिल्ला महिनाहरूमा जस्तै  युएई जानेको संख्या सबैभन्दा बढी छ । 

युरोपेली देशहरुमा पनि नेपालीहरु गएका छन् । रोमानिया, ओमान, क्रोएसिया, साइप्रस, जोर्डन, मरिससलगायतका देशरुमा पनि कामदारहरु गएका छन् ।  मलेसियामा नयाँ एप्रुभल नखुल्दा नेपाली जानेक्रम घटेको हो । कतारमा होटल क्षेत्रको अकुपेन्सी बढेपनि विश्वकप फुटबल पछि नयाँ रोजगारी सिर्जना हुन नसकेको बताइएको छ ।