झापा । 

झापाका १३ वटा कम्पनीले १४५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् भने कोशी प्रदेशमा जम्मा ५३ कम्पनीले ६७६ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् ।

जसमा टाइम सोलर इनर्जीले १० मेगावाटका दुईवटा, मेची रिन्यू इनर्जी प्रा.लि.ले १० मेगावाट सोलर विद्युत् निकाल्ने लिष्टमा छन् । मोरङमा १३१ मेगावाट क्षमताको ऊर्जा उत्पादनको लागि १० वटा कम्पनी छनौटमा परेका छन् । 

गोल्छा अर्गनाइजेसनले अरिहन्त ग्रिन इनर्जी प्रा.लि.मार्फत सुनसरीको बर्जु गाउँपालिकामा २५ मेगावाट सौर्य ऊर्जा उत्पादनको प्रस्ताव गरेको छ । यस्तै आनन्द इँटा उद्योगका सञ्चालक तथा रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले आनन्द सोलर प्रा.लि.को नाममा सुनसरीको बर्जुमा २५, मोरङको कटहरी र रंगेलीमा १०–१० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् । उनको प्राविधिक प्रस्ताव पारित भइसकेको छ । 

यस्तै उदयपुरमा सुनलाइट इनर्जीले जलजलेमा १० मेगावाट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले तेह्रथुममा २० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेको छ । 

यस्तै संखुवासभामा विभिन्न ८ वटा कम्पनीले ९० मेगावाट सोलर ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् । यस्तै सुनसरीमा ११ वटा कम्पनीले २७० मेगावाट, सोलुखुम्बुमा १० मेगावाट र तेह्रथुममा २० मेगावाट विद्युत् उत्पादनको प्रस्ताव गरिएको छ । 

 सौर्य ऊर्जामा लगानी गर्दा प्रति मेगावाट ६ देखि ७ करोड लगानी आवश्यक पर्ने र जसमध्ये ६० देखि ७० प्रतिशत लगानी सोलर प्यानल खरिदमा खर्च हुने जनाइएको छ । विद्युत् प्राधिकरणले प्रति युनिट ५ रुपैयाँ ९४ पैसाभन्दा कम मूल्यमा विद्युत् विक्री गर्ने उत्पादकलाई मात्रै अनुमति दिने प्रस्ताव गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले तीन हजार ४९३ मेगावाट क्षमताका सौर्य ऊर्जा उत्पादन गर्नका लागि निजी क्षेत्रले गरेको प्राविधिक प्रस्ताव पारित गरेको छ । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार देशभरका २ सय ६३ स्थानको छनौट गर्दै उक्त आयोजनाहरूको प्राविधिक प्रस्ताव पारित गरेको हो ।

प्राधिकरणले देशभरबाट ८५० मेगावाट क्षमता बराबरको सौर्य विद्युत् उत्पादन गर्नका लागि प्राविधिक र वित्तीय प्रस्ताव आव्हान गरेको थियो । सो अनुसार परेका प्रस्तावमध्ये १२७ सौर्य ऊर्जा उत्पादक कम्पनीहरू प्राविधिक रूपमा छनौटमा परेका हुन् ।