बिराटनगर । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी ६९ औ प्रहरी दिवस सम्पन्न गरेका छन् ।  

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता एवं आन्तरीक मामिला तथा कानून मन्त्री लीला वल्लभ अधिकारीको बिशेष आतिथ्य रहेको थियो । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई दिएको शुभकामना सन्देश वाचन गरेका थिए । उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा स्वागत मन्तव्य समेत राखेका थिए । 

कार्यक्रममा प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, प्रहरी कार्यमा सहयोग पु¥याउनु हुने महानुभावहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिधागत पुरस्कारका संस्थापकहरुलाई सम्मान गरिएको थियो । बिभिन्न बिधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान समेत गरिएको थियो ।  कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिलाबल्लभ अधिकारी, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला तथा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले आ–आफ्नो मन्तव्य राखेका थिए । 

यस बर्षको १ लाख धनराशीको दशौ ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रदेश अनुसन्धान समूहमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गरिएको छ । कोशी  प्रदेश अन्तरगत बर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट भएका थापा मगरलाई ६९ औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले उनीरुलाई पुरस्कृत गरेको हो । बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका प्रोफेसर डाक्टर बिक्रमप्रसाद श्रेष्ठको ममतामयी स्वर्गीय आमा साधना देवी श्रेष्ठको नामबाट दिईने ‘साधाना देवी उत्कृष्ट प्रहरी पुरस्कार’ कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गरिएको थियो । 

प्रहरी दिवस २०८१ को अवसरमा प्रदान गरिने बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीलाई प्रदान गरिएको छ । २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट छनौट गरी उनलाई प्रदान गरिएको हो । पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक बुढाथोकीले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गरी महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने प्रहरी सहायक निरीक्षकलाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा–पत्र प्रदान गरेका थिए । १८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा–पत्रद्वारा सम्मान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । 

 प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी सहायक हबल्दार सीताकुमारी दुलाल उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा सम्मानित भएकी छिन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई  नगद पुरस्कार द्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप–महानगरपालिका–८ की श्रीमती शिला श्रेष्ठ बज्रचार्यले महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्न यसै बर्षदेखि २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गरेका हुन् ।  उक्त पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले प्रहरी सहायक हबल्दार दुलाललाई प्रदान गरेकी थिइन् । 

त्यस्तै बिभिन्न खेलकुदका बिजयी खेलाडी तथा बिभिन्न बिधामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।  बिभिन्न खेलहरुमा बिजय हुने खेलाडीहरु ५५ जना, निर्णायक १२ जना र कार्यालय संचालनतर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी उपरीक्षक दिपक पोखरेलसहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई मेडल, प्रसंशा पत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरेका थिए ।  

 नेपाल प्रहरी प्रधान कार्यालयले सिर्जनसिल कार्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ्गलाई सम्मानित गरेको छ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन २०८१ को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरु मध्ये सिर्जनसिल कार्यमा उत्कृष्ट योगदान पु¥याए वापत उक्त कार्यको उच्च मुल्याङकन गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख खापुङ्गलाई सम्मानित गरेको हो ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार प्रहरी दिवसको अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रदान गरेका थिए ।