धरान ।  

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा शुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत आज (बुधबार) ८ जना मानवहरुको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित शुरु भएको ३२ दिने यात्राका क्रममा उनीहरुको उद्धार गरिएको हो । उद्धार यात्राका क्रममा उद्धार टोली आज सुनसरीको दुहबी, इटहरी, धरानका विभिन्न स्थानका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धारमा खटिएको हो ।

बुधबार सुनसरीको दुहबी नगरपालिका–७  बाट १ जना,  इटहरी उप–महानगरपालिकाका विभिन्न वडाबाट ७ जना र धरानबाट ४ गरि  १२ जनाको उद्धार भएको  मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । यात्राको पहिलो दिन सोमबार झापाका विभिन्न क्षेत्रबाट १०,  दोस्रो दिन ६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो ।

उद्धार गरिएका सडकआश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा आज नै संरक्षणको लागि पठाइएको छ । साथै भोलि बिहिबार उदयपुर जिल्ला वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका मानवहरुको उद्धार गरिने कार्यक्रम रहेको छ । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरू रहेका छन् ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

यो पटकको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले ८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई सघाउने आश्रमले विश्वास गरेको छ ।