झापा । 

डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमती बोहरा, अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो।

बस सडकबाट करिब साढे ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।