विराटनगर । 

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा अन्तरगत आज (मंगलबार) झापा र मोरङका बिभिन्न स्थानबाट छ जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३२ दिने मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको हो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुने जनाइएको छ । आज उद्धार यात्राका क्रममा उद्धार टोली झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धार तथा सेवामा खटिएको थियो ।

मंगलबार ६ जना सहयोगापेक्षी  मानवहरुको उद्वार भएको छ । जसमध्ये झापाको दमक नगरपालिकाबाट २ जना, मोरङको बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाको र विराटनगर महानगरपालिका–१५ रामजानकी मार्गबाट १ जनाको  उद्धार गरिएको छ। यात्राको पहिलो दिन सोमबार १० जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो

उद्धार गरिएका सडकआश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा आज नै गृह प्रवेश गराइएको छ । साथै भोलि बुधबार सुनसरी जिल्लाको धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवहरुको  उद्धार सेवा गरिनेछ ।