झापा । 

झापाको भद्रपुर नगरपालिका–५ बसपार्कमा रहेको न्यू वान्तवा होटलबाट लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

न्यू वान्तवा होटलमा लागूऔषध बिक्री बितरण तथा कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो । 

भारतको विहार राज्य किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दू कोलोनी ८ बस्ने ३८ बर्षिय जमकोद खाँन र उनका छोरा १८ बर्षिय आयान खाँनलाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई फेला पारी जीउ शरिर तलासी लिँदा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ५२ ग्राम २९० मिलिग्राम फेला परेको थियो । उनीहरुका साथबाट लागूऔषध बरामद भएसँगै दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।