झापा ।

झापामा चौबीस घण्टाको अवधिमा १० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा सवै मोटरसाइकल दुर्घटनामा छन् । २४ घण्टाको अवधिमा झापाभर १० वटा दुर्घटना भएको र ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ती दशवटा दुर्घटनामध्ये आठवटा मोटरसाइकल दुर्घटना भएका हुन् भने एक–एकवटा सिटी र ट्रयाक्टर दुर्घटना भएको कार्यालयले जनाएको छ । कमल–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा भएको शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा शिवसताक्षी–८ का ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको थियो। केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर  दुर्घटना हुँदा उनीहरुके मृत्यु भएको हो । 

मेचीनगर–७ इटाभट्टामा  काँकरभिट्टतर्फ जाँदै गरेको प्र. ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक मेचीनगर–७ बस्ने अन्दाजी ५० वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिदा घाइते उनको उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाइकल चालक अभिषेक लिम्बू, मोटरसाइकलमा पछाडी सवार मेचीनगर– ६ बस्ने २१ वर्षीय रमेश श्रेष्ठसमेत घाइते भएका थिए । घाइते दुबै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै दमक–२ ढुकुरपानीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शनिवार साँझ ५ः५० बजे ढुकुरपानीबाट हिमालय मावितर्फ आउँदै गरेको प्रदेश १–०२–४१ प १७४७ नं. को मोटरसाइकलले साइकल यात्री सोही ठाउँ बस्ने ७६ वर्षीय जयराम गुरागाईलाई ठक्कर दिएको थियो । घाइते गुरागाईलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपछि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा आइतवार साँझ ६ः३० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै गएराति अन्दाजी ९ः३० बजे मेचीनगर–१ हातेमालो सामुदायिक वन कार्यालयस्थित मेची राजमार्गमा चन्द्रगढीबाट चारआलीतर्फ जाँदै गरेको प्र.१–०१–००२ ह.४०९८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटी सफारीमा सवार यात्रुहरु मेचीनगर १३ बस्ने अन्दाजी २४ वर्षीय नारदमणि सुवेदी, सोही ठाउँका अन्दाजी ४५ वर्षीय बुद्धिराम आचार्य घाइते भएका छन् । सुवेदीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने आचार्य घर फर्किएका छन् । सिटी सफारी चालक मेचीनगर १२ बस्ने अन्दाजी ५० वर्षीय गंगा राउत उपचारमा संलग्न रहेका छन् । सिटी सफारी प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।

कमल–५ पाडाजुँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ७७७७ नं.को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री पाँचथर प्राङबुङ घर बताउने अन्दाजी ७० वर्षीय अकलबहादुर मगर घाइते भएका छन् । उनको लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेको छ । मोटरसाइकल चालक शिवसताक्षी–११ बस्ने ३४ वर्षीय सुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

त्यस्तै गएराति १ः३० बजे शिवसताक्षी–१ धरमपुर चौकस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ४५०८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचथर रानीटार गाउँपालिका १४ बस्ने २८ वर्षीय सरोज राई र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने २८ वर्षीय युबराज राई घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।

गौरीगञ्ज गाउँपालिका–५ मलाह टोलस्थित चिल्हारा–जनता चोक भित्री कच्ची सडकखण्डमा चिल्हाराबाट जनता चोकतर्फ आउँदै गरेको को१त ६०९३ नम्वरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा ट्रयाक्टर चालक गौरीगञ्ज ६ बस्ने १९ वर्षीय फुलचन महत्तो र ट्रयाक्टरमा सवार कामदार सोही ठाउँ बस्ने ३५ वर्षीय हरि मिस्त्री घाइते भएका छन् । दुवैजना घाइतेको आधारभूत अस्पताल गौरीगञ्जमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो बिहान ११ बजे दमक नगरपालिका वडा नं।९ भाटभटेनीस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको को ३०प ९०२९ नं। को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री कमल गाउँपालिका वडा नं। ५ मंगलबारे बस्ने ८५ वर्षीय हेमसागर खतिवडा गंभीर घाइते भएका छन् । टाउकोमा चोट लागेका खतिवडालाई निम्स अस्पताल दमकमा ल्याई उपचार गरेपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएको छ । मोटरसाइकल चालक दमक नगरपालिका वडा नं। २ बस्ने २५ वर्षीय किशोरजंग भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

पाडाजुंगी–गौरीगञ्ज भित्री सडकखण्ड अन्तर्गत गौरादह–२ मा गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको तत्काल अल्फावेट नखुलेको ९५५३ नं. को मोटरसाइकलले ठक्कर दिँदा गौरादह–२ बस्ने ४५ वर्षीया मंगली मुर्मू घाइते भएकी छन् । घाइतेको मेडिम्यस अस्पतालमा गौरादहमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक फरार रहेका छन् । उनको खोजतलास भइरहेको जनाइएको छ ।

शिवसताक्षी–८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ११ प ८७९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड–६ बस्ने अन्दाजी ३० वर्षीय सविन राई घाइते भएका छन् । टाउको,अनुहार तथा हातखुट्टामा चोट लागेर गंभीर घाइते भएका राईको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।