झापा । 

केहीदिन अघि दुई वटा ट्रकमा आगजनी गरेर घाइते भएका ड्राइभर मध्ये एकको मृत्युपछि आठ जनालाई कर्तव्य ज्यानमासमेत थप कारवाही अगाडि बढाइएको छ । 

गत असोज ६ गते राति १०ः ३० र सोही राति २ः३० बजेको समयमा दुई वटा भारती ट्रकमा आगजनी गर्ने उनीहरुलाई कारवाही अगाडि बढाइएको हो । अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा तत्काल फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो । 

खोजतलासका क्रममा पक्राउ पर्नेहरुमा झापाको हल्दीबारी–१ का  ४० बर्षिय भिम तुम्बापो लिम्बु, सोही स्थानका २४ बर्षिय विवस लिम्बु र ५१ बर्षिय वीरबहादुर गुरुङ, बिर्तामोड–७ का ३३ बर्षिय सुरेश चौधरी, बुद्धशान्ति–४ का बलिहाङ माबो लिम्बु, मेचीनगर–६ का ३४ बर्षिय राजेश महत, अर्जुनधारा–९ का ३८ बर्षिय रुद्र भुजेल र बिर्तामोड–३ का ३५ बर्षिय उदय लिम्बु थिए । उनीहरु आठै जना राष्ट्र राष्ट्रियता धर्म  संस्कृति नागरिक बचाउ महाअभियानका बिभिन्न पदमा रहेका छन् । 

प्रतिवादीहरुलाई जिल्ला अदालत झापाबाट अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिएर  अनुसन्धान भइरहेको थियो । असोज १९ गते भारतमा उपचारार्थ रहेका चालक पोदो रायको उपचारको क्रममा मृत्यु भएकोले सो सम्बन्धमा कानुन बमोजिमको थप प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । आठै जना प्रतिवादीहरुलाई कर्तव्य ज्यानमा समेत थप प्रक्रियागत कारवाही अगाडी बढाई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरुले झापाको कनकाई–८ स्थित बिरिङ पुलमा एउटा भारतीय ट्रकमा आगजनी गर्दा ड्राइभर घाइते भएर भाग्न सफल भएका र ट्रक जलेको थियो भने  बिर्तामोड–६ स्थित गिरिबन्धु टि–स्टेट पूर्व पश्चिम राजमार्गमा गरिएको भारतीय ट्रकमा घाइते ड्राइभरको मृत्यु भएपछि थप कारवाही गरिएको प्रहरीले जनाएको छ । 

 भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ गईरहेको कुमार महतोले चलाएको UP57AT4493 नं. को भारतिय ट्रकलाई बिरिङ पुल र विर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको WB 73 E 3056 नं. को भारतिय ट्रक र चालकलाई समेत मार्ने उदेश्यले आगजनी गरेका थिए । आगजनीमा घाइते पोदो रायको उपचारको क्रममा मृत्यु भएको थियो ।