झापा । 

अहिले लामो दूरीका सार्वजनिक यातायात र हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । नेपालीहरुको महान पर्वका रुपमा रहेको बडादशैं नजिकिएसँगै लामोदुरीका यातायात र हवाई टिकट पाउन मुस्किल हुन थालेको हो । 

दशैं  मनाउन गत असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिकका अनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् ।  दशैंका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।

बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरू दशैंको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका छन् ।  दशैंका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका यात्रीहरुको भनाई छ । कतिपय यात्रुहरु टिकट नपाउँदा बसमा राखिएका मुडा तथा बसको बोनटमा बसेर पनि यात्रा गर्न बाध्य भएका छन् ।