झापा । 

साउदी अरबको पूर्वी प्रान्तको दुईदिने अस्थायी राहदानी शिविरबाट ९ सय ४९ जनाले लाभान्वित भएका छन् । साउदीको जुवेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा नेपाली राजदूतावास, रियादले आयोजना गरेको शिविरमा ९ सय ४९ जनाले सेवा लिएका हुन् ।  शिविर अक्टोबर ४ र ५ मा सञ्चालन भएको थियो ।

शिविरमा ९ सय ८ जनाको विद्युतीय राहदानी (ई–पासपोर्ट) अनलाइन फारम संकलन गरिएको छ भने ४१ जनाको बहिर्गमनका लागि आवेदन संकलन गरिएको थियो । श्रम काउन्सिलर देवेन्द्र कार्कीको नेतृत्वमा राजदूतावासका उच्च अधिकारीहरूको टोलीले उक्त शिविर सञ्चालन गरेका थिए ।

उक्त शिविरमा विभिन्न राजनीतिक, सामाजिक र व्यवसायिक संघ–संस्थाहरूले सहयोग गरेका थिए । एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालको नेतृत्वमा स्वयंसेवकहरू सक्रिय रहेका थिए । साथै, पूर्वी प्रान्तका विभिन्न सामाजिक संस्थाहरूले पनि यस शिविरमा सहभागिता जनाएका थिए ।