झापा ।  

झापाको बाह्रदशी गाउपालिका वडा नम्बर ५ फुलाबारीका २२ बर्षिय राजेश हजामलाई हत्यापछि गाडिएको आशंकामा प्रहरीले उत्खनन् गर्ने क्रममा कंकाल फेला पारेको छ । 

उत्खखन् गर्ने क्रममा बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गाडिएको अबस्थामा टाउको हड्डी, खुट्टाको नलि हड्डी, शरिरको अस्थि पंजर सडेगलेको अवस्थामा फेला परेको छ । प्रहरीले कानुनी प्रकृया गरेर आफन्तबाट सनाखत समेत भएको बताइएको छ । उक्त स्थानमा स्थानिय जनप्रतिनिधीलगायत पिडित पक्ष समेत गरी करिब २५ जना रहेको प्रहरीले जनाएको छ । 

हत्या गरी गाडेको सुराक पाइसकेपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले झापा बाह्रदशी–५ फूलवारीका राजेश ठाकुरको कंकाल आज साँझ फेला पारेको छ । चार दिनदेखि प्रहरीले जेसीवी प्रयोग गरेर ठाकुरको शव खोजिरहेको थियो । प्रहरीले दुई दिनसम्म आरोपित राजवंशी परिवारको घर आँगन खनेको थियो । त्यसपछि बिरिङ खोलाको बगरमा खन्दा पनि ठाकुरको शव भेटिएको थिएन ।

हत्या गरी दुबई गएका गणेश राजवंशीसंगको कुराकानी र अन्य अनुसन्धानबाट ठाउँ पत्ता लगाई आज उत्खनन् गरिएको प्रहरीले जनाएको छ । 

 छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीलगायतले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले उनीहरुको घर उत्खनन् गरेको थियो । आफ्नी काकी मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका भतिज नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको थियो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेका थिए ।

घटनामा संलग्न रहेका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएका थिए । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । मुना, उनका जेठाजु समिर राजवंशी र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । दुवईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।