बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले बजार अनुगमन गरेको छ । दशैं, तिहार नजिकिएसँगै बजारमा हुने कालो बजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकाले खाद्यान्न, मासु  पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले बिर्तामोड–५ मा रहेको सतासी डिपार्टमेन्ट स्टोर र बिर्तामोड–४ को एभरेष्ट फ्रेस एण्ड फेसन मार्टबाट अखाद्य वस्तु मिसावट भएको एभरेष्ट मसला जफत गरेको छ । यो मसला खानका लागि अयोग्य रहेको जनाइएको छ । यस्तै बिर्तामोड–५ को स्वरोजगार भवानी बचत ऋण सहकारी पसलबाट केहि अखाद्य रंग मिसावट भएको फ्राई मटर जफत गरेको छ । 

बुधवार गरिएको अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्य सूची नराखिएको, खानेकुरामा अखाद्य रंग मिसाइएको, पेय पदार्थमा खुद्रा मुल्य उल्लेख नगरिएको पाइएको छ । यस प्रकारका पसलहरुलाई भोलिदेखि नै सुधार गर्न निर्देशन गरेको जनाइएको छ ।

नगरपालिकाले बजारको अवस्था हेरेर जुनसुकै बेला पनि बजार अनुगमन गर्न सक्ने नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताएका छन् । उनले बजारमा उपभोक्तालाई ठगी गर्ने प्रकारका कुनैपनि कार्य गरेको भेटिए प्रमाणसहित नगरपालिकालाई खबर गर्न पनि आग्रह गरेका छन् । 

बिर्तामोड नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा नगर उप–प्रमुख संग्रौला, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, आन्तरिक राजश्व कार्यालयका टंक पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका टंकप्रसाद प्रसाई, खाद्य गुणस्तर तथा नापतौल कार्यालयका सुवास वस्ती, हरेराम महतो, बिर्तामोड नगरपालिकाका राजश्व शाखा प्रमुख पदम घिमिरे, शम्भु शाह,  बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल, प्रहरीलगायत सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।