झापा । 

नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशैँ, शुभ दिपावली तथा छठ पर्वमा आपराधिक घटनाहरुलाई न्यूनिकरण तथा रोकथामका लागि जिल्ला प्रहरी कार्यालय झापाले बिशेष सुरक्षाका लागि एक हजार २६० प्रहरी परिचालन गर्ने भएको छ । 

चाडवाडमा हुन सक्ने विभिन्न किसिमका आपराधिक घटनाहरुलाई न्यूनिकरण तथा रोकथामका साथै सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाएर आम नागरिकहरुले भयरहित वातावरणमा आपसी सद्भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्नका प्रहरीले एक हजार २ सय ६० जना प्रहरी परिचालन गर्ने भएको हो । 

आज (बुधवार) जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १० गतेदेखि कार्तिक २९ गतेसम्म लागू हुने गरी चाडपर्व लक्षित सुरक्षा योजना २०८१ तर्जुमा गरी कार्यान्वयन गरिएको जनाएको छ । 

चाड पर्वका लागि प्रहरी उपरिक्षक एक जना, प्रहरी नायव निरिक्षक ४ जना, प्रहरी निरिक्षक १५ जना, प्रहरी बल नायव निरिक्षक ११ जना, प्रहरी नायव निरिक्षक ५५ जना, प्रहरी सहायक निरिक्षक १३२ जना, प्रहरी बल हल्लाहर ५७ जना, प्रहरी हल्लाहर २०२ जना, प्रहरी सहायक हल्लाहर ३०९ जना, प्रहरी जवान ४७४ गरी जम्मा एक हजार २६० जना प्रहरी परिचालन गरिने बताइएको छ ।