झापा । 

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरुमा जानका लागि २ हजार १ सय १२ जनाको नाम सार्वजनिक गरेको छ । विभागले गत असार ११ गते प्रकाशित गरेको सूचना अनुसार अनलाइन दरखास्त पेस गरेका उम्मेदवार मध्ये इजरायली पक्षले १ हजार १ सय ५६ महिला र ९ सय ५६ गरी २ हजार १ सय १२ जनाको छनोट सूची सार्वजनिक गरेको हो ।

विभागले गोलाप्रथा ‘लट्री’बाट छनोट भएको भनि इजरायलको पिबाको इमेलमार्फत आधिकारिक जानकारी आएको जनाएको छ । विभागले छनोट भएका कामदारको स्वास्थ्य परीक्षणको मिति पछि जानकारी  गराउने जनाएको छ । 

यसअघि भर्ना प्रक्रियामा सहभागीको नाम छनोट गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसमाथि छानबिन शुरु गरेको थियो । विभागले गत साउन २१ गते १ हजार ८ सय ६३ पुरुष र १ हजार ५ सय ९५ महिला गरी ३ हजार ४ सय ६१ जनाको नाम इजरायली संस्था ‘पिबा’मा पठाएको थियो ।

इजरायलले लैजानेमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन् । इजरायल जाने कामदारको छनोट प्रक्रियामा अनियमितता भएको र कतिपय इन्स्टिच्युट सञ्चालकले वैदेशिक रोजगार विभागका अधिकृतहरुको नाम जोडेर इजरायलको रोजगारी पक्का भन्दै मोटो रकम उठाएको र कतिपयले नक्कली कागजात पेस गरेको सार्वजनिक भएको थियो । त्यसमा छानबिन जारी रहेको श्रम मन्त्रालयले जनाएको छ ।