झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० ठुटेबरमा भएको सवारी दुर्घटनामा परेका घाइते मध्ये एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड–१० का २७ बर्षिय अनिस न्यौपाने छन् । 

आइतवार राती ८ः३० बजेको समयमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आउँदै गरेको साईकल यात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर न्यौपानेको टाउको र दुबै खुट्टामा चोट, अवस्था मध्यम रहेको, मोटरसाईकल पछाडी सवार सोही स्थानका अन्दाजी ३८ बर्षिय टिकाराम रायको दुबै खुट्टामा चोट र अवस्था सामान्य रहेको थियो । 

उपचारकै क्रममा घाइते न्यौपानेको मृत्यु भएको हो । लास तत्काल सोही अस्पतालमा रहेको र मोटरसाईकल अस्थाई प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा ल्याएर  आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।