झापा । 

इलामको रोङ गाउँपालिका, कुटीडाँडास्थित पाथिभरा मन्दिरमा यस वर्ष पनि भण्डाराको तयारी गरिएको छ । हरेक वर्ष बडादशैं र चैते दशैंमा झापा विर्तामोडका व्यवसायीहरुको समूह पाथिभरा भण्डारा समितिले सामाजिक सेवाकार्यअन्तर्गत लगाउँदै आएको भण्डारा यस वर्ष यही असोज १९ गते तृतीया तिथिमा लगाइने समितिका संयोजक तथा चेम्बर अफ कमर्स कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । पाथिभरामा यो १९ औं भण्डारा हुनेछ ।

त्यसका लागि आवश्यक तयारी भइरहेको विर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालकसमेत रहेका अग्रवालले जानकारी दिए ।सानो पाथिभरा’ नामले प्रख्यात इलामको पाथिभरा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पनि सामाजिक सेवाकार्यअन्तर्गत नै पाथिभरा भण्डारा समितिले विभिन्न भौतिक संरचना निर्माणमा सहयोग गर्दै आएको छ ।

निकै डाँडामा रहेको मन्दिर पसिरसम्म खानेपानी पुर्याउन समितिले सहयोग गरेको बताउँदै अग्रवालले व्यवसायीहरुकै सहयोगमा भरखरै मन्दिर परिसरमा पेवर्स–ब्लक बिछ्याएर भक्तजनलाई आवत–जावतामा सहजता प्रदान गरेको जानकारी दिए । यस्तै, मन्दिरको थप जीर्णोद्धार गर्नुपर्ने देखिएकोले त्यसका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

यस वर्ष पनि पाथिभरा माताको दर्शन गर्न आउने सम्पूर्ण भक्तजनलाई भण्डाराबाट प्रसाद तथा पानी वितरणको कार्यक्रम राखिएको जानकारी दिँदै अग्रवालले महान पर्व बडादशैंमा पाथिभरा माताको दर्शन गरी पुण्यलाभ गर्नुका साथै आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन आह्वान गरेका छन् ।