झापा। 

केही दिनदेखिको अविरल वर्षाका कारण झापामा करिव तीन दर्जन परिवार विस्थापित भएका छन् । जिल्ला विपद् कार्यालय झापाले संकलन गरेको तथ्यांक अनुसार जिल्लामा ३१ परिवार बिस्थापित भएका छन् । बिस्थापित हुनेहरुमा सबैभन्दा बढी बिर्तामोडका रहेका छन् । बिर्तामोडका १८ परिवार बिस्थापित भएका हुन् ।

केही दिनदेखि अबिरल बर्षाका कारण अधुवा खोलामा आएको बाढीले बिर्तामोड– ३ सिर्जना टोलमा पानीको बहाव पसेर ९ परिवार बिस्थापित भएका छन् ।  प्रहरी चौकी बिर्ताबजारबाट टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सार्ने कार्य गरिएको बिर्तामोड प्रहरीले जनाएको छ । उनीहरुको घरभित्र रहेका अन्तपात ,लत्ताकपडालगायत अन्य सरसामानहरु भिजेको डीएसपी प्रकाश विष्टले बताए ।

त्यस्तै बिर्तामोड– ५ नमुना टोल र  मान्डा टोल बस्ने पाँच परिवार बिस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

बिर्तामोड वडा नं ८ बाह्रबिघे बस्ने तीन परिवार बिस्थापित भएका छन् । अस्थाई प्रहरी चौकी गरामनीबाट टोली खटिएर स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यस्तै बिर्तामोड –५ भुसुनेस्थित शान्तिकुमारी गुरुङको घरभित्र नजिकै रहेको कल्भर्टको पानीको बहाव पसेर घरभित्र रहेका अन्नपात,लत्ताकपडालगायत अन्य सामानहरु भिजेकाले प्रहरी र स्थानीयको सहयोगमा छिमेकीको घरमा लगेर राखिएको छ । गाईगोठमा समेत पानी पसेपछि गाईबाख्राहरु सुरक्षित स्थानमा राखिएको जनाइएको छ ।

त्यस्तै कनकाई नगरपालिका वडा नम्बर ३ झर्ना बस्तीमा सन्का खोला र सुरुङ्गा खोलाको पानीको बहाब पसेर ११ परिवार बिस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । कनकाई नदीले कटान सुरु गर्दा शिवसताक्षी नगरपालिका– १० मा दुई परिवार बिस्थापित भएका छन् । 

शिवसताक्षी – १० बिहानी टोलको पश्चिमतर्फबाट कनकाई खोलाले कटान सुरु गरेको हो । उक्त टोलको १५ घरमध्ये ती दुईवटा घर अति जोखिममा परेपछि शिवसताक्षी नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वयमा मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको छ।

 शिवसताक्षी –७ को होली टोलका अन्दाजी २०–२२ घरमा सताक्षी खोलाको पानी पसेर डुवान भएको छ । घरमा सामान्य पानी पसेको र तत्काल क्षति गर्ने सम्भावना नरहेकोले उनीहरुलाई स्थानान्तरण नगरिएको जिल्ला विपद् कार्यालयले जनाएको छ ।