झापा ।

धनकुटाको चैविसे गाउँपालिका–१ स्थित रवि–राँके –भेडेटार सडक  खण्ड अबिरल बर्षाका कारण अवरोध भएको छ । आज (शुक्रवार) बिहान ९ः३० बजे बर्षाको कारण माथिबाट माटो ढुङगा खसेर दुवै तर्फ बाटो अवरोध भएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी ६ नम्बर बुधवारे धनकुटाको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी बाटो  खुलाउने प्रक्रिया भइरहेको जनाइएको छ । बिगत केही दिनदेखि परिरहेको अबिरल बर्षाका कारण खसेको पहिरोका कारण पाँचथरमा सडक अवरोध भएको छ भने तेह्रथुम गाई गोठ लडेर चौपाय क्षति भएको छ । 

पाँचथरको याङवरक गाउँपालिका–३ ओयामस्थित मध्यपहाडि लोकमार्गको रिजाल भिरमा गएराति ९ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । आज (शुक्रवार) सोही  आयोजनाको स्काभेटरले पहिरो पन्छाउने कार्य भईरहेको र सो स्थानमा कुनैपनि सवारी साधनहरु थुनिएर नरहेको प्रहरीले जनाएको छ । 

अबिरल बर्षाकै कारण तेह्रथुमको आठराई गाउँपालिका–५ स्थित होडाकी ७४ बर्षिया  धनमाया कन्दङवाको गाई गोठ लडेर चौपाय क्षति भएको छ ।  आज बिहान छातेढुङगा प्रहरी चौकीमा जानकारी गराउन साथ प्रहरी टोली घटना स्थलमा पुगेर अनुसन्धान गरेको थियो । 

कन्दङवाको घर नजिकै रहेको उनकै ढुङगामाटोले बनेको फुसको छानो भएको १ तले गोठ लडेर गोठमा बाँधिएको एउटा भैसी, एउटा खसी, २ वटा बाख्रा, एउटा सुगुर  पुरिएर मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

पुरिएको चौपायहरुलाई स्थानियको सहयोगमा  निकाल्ने कार्यभईरहेको बताइएको छ ।  गोठ र चौपाय गरेर चार लाख चालिस हजार रुपैयाँ बराबरको क्षति भएका प्रहरीले जनाएको छ । 

संकेत तस्वीर