झापा । 

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई असोज मसान्तभित्र शाखा कार्यालय नवीकरण गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाहरूको स्वदेशमा शाखा कार्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७९ को दफा ५ को उपदफा १ मा प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र शाखा कार्यालय नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

तर धेरै म्यानपावर कम्पनीले शाखा कार्यालय नवीकरण नगरेको देखिएपछि सूचना नै निकालेर विभागले असोज मसान्तसम्ममा शाखा कार्यालय नवीकरणको दबाब दिएको हो । कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको एक हजार शुल्क लाग्ने व्यवस्था छ ।

शाखा  नवीकरण गराउन चाहने म्यानपावर कम्पनीहरुले निवेदनका साथमा नवीकरण दस्तुर, शेयर लगत, हालसालै अध्यावधिक गरिएको शेयर लगतको पत्र, गत आर्थिक वर्षको करचुक्ता प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमति पत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्ने सञ्चालक समितिको निर्णय, शाखा दर्ता गर्दा पेश गरेको नगद धरौटीको प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रतलिपि, शाखा प्रमुख र अन्य कर्मचारीको नियुक्तिपत्र तथा विवरण र कार्यालय वहालमा रहेको भए घर वहाल सम्झौता पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रत्येक शाखा कार्यालयको धरौटी शुल्क दुई लाख रुपैयाँ तोकिएको छ । शाखा कार्यालयमा कार्यालय प्रमुख रहने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा र सहायक कर्मचारीका लागि एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ । 

विभागको तथ्यांकअनुसार हालसम्म ३२ वटा म्यानपावर कम्पनीले शाखा सञ्चालनको अनुमति लिएका छन् । तीमध्ये अधिकांशले झापाको बिर्तामोड, सुनसरीको इटहरी तथा धरान, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, चितवनको भरतपुर र दाङमा कार्यालय सञ्चालन गरिरहेका छन् ।