झापा । 

पछिल्लो केहिदिन यता पूर्वी नेपालमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण मानिसहरु ढल्न थालेका छन् । चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत फेला परेकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । 

बिर्तामोड–६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य विरामी भएकी मागि हिड्ने ती महिला एक्कासि ढलेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ती महिलाले मादक पदार्थ सेवन गरेकोसमेत भेटिएको डिएसपी प्रकाश बिष्टले जानकारी दिए । पाँचथर माइत भएकी प्रेमबहादुर जोगीकी कान्छी श्रीमती राधिका श्रीमानले छोडेपछि ६ वर्षीया छोरीसँग मागेर गुजारा गर्ने गरेकी थिइन् ।

त्यस्तै कनकाईको कोटीहोम क्षेत्रमा एकजना वृद्धा आज (आइतवार) अत्यधिक गर्मीका कारण ढलेकी छन् । कोटीहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखेको र सुरुङ्गा स्वास्थ्य केन्द्रमा लैजान लागिएको स्थानीयले बताएका छन् । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती वृद्धाको पहिचान खुलिसकेको छैन ।