झापा । 

 वैदेशिक रोजगारका लागि पठाउने बहानामा ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गरेको आरोपमा ती ब्यक्ति पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको हो । 

उनले आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखेपछि विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

भण्डारीलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको बताइएको छ ।