काँकडभिट्टा ।
झापाको मेचीनगर–६ काँकरभिट्टाबाट सशस्त्र प्रहरीले एक लाख बढीको पटाका बरामद गरी नष्ट गरेको छ । प्रहरीले एकलाख अठार हजार आठ सय ६४ रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको जनाएको हो ।
भारतीय नम्बर प्लेटको डब्लु ७४ एपी २३२७ नम्बरको मारुती कारमा ती पटाका ल्याइएको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहबरमा पटाका नष्ट गरिएको जनाएको छ ।
भारतबाट काँकरभिट्टा नाका हुँदै अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित पटाका नियन्त्रणमा लिएर शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा परिसरभित्र खाल्डोमा हालेर नष्ट पारिएको गुल्मपति सशस्त्र प्रहरीले जनाएको छ ।
भारी मात्रामा प्रतिबन्धित वस्तु हालेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीलाई देख्नासाथ कार छाडेर चालक फरार भएपछि शंका लागेर खोली हेर्दा भारी मात्रामा प्रहरीले पटाका बरामद गरेको थियो । पटाका नष्ट गरेर सवारीसाधनलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।