बिर्तामोड । 

नारी सञ्चार गृह झापाको आयोजनामा खाद्य स्वच्छता, सुरक्षा र सरोकारवालाको भुमिका बिषयक अन्तर संवाद कार्यक्रम भएको छ । झापाको बिर्तामोडमा आज (बुधवार) सरोकारवालाहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । 

सरोकारवालाहरुले खाद्य स्वच्छतामा ध्यान दिनु पर्नेमा जोड दिएका छन् । उनीहरुले सरकारी तथा गैर सरकारी संस्थासहित सरोकारवाला सवैले अखाद्य बस्तुलाई रोक लगाउँदै स्वास्थ्य पर्ने  समस्याका बिषयमा जनचेतना मुलक कार्यक्रम गर्नु पर्ने बताएका छन् । उनीहरुले त्यस्ता अखाद्य बस्तुको निगरानी गर्दै  बिक्री बितरणमा रोक लगाउनु पर्नेमा समेत जोड दिएका छन् । सोही कार्यक्रमकाबिच नारी सञ्चार गृह झापाले ६ बुँदे प्रतिवद्धतासमेत गरेको छ । 

संघीय सरकारका जिल्ला स्थित निकाय र स्थानीय सरकारको आपसी समन्वय र सहकार्यमा मानव स्वास्थ्यका लागि हानीकारक बस्तु नियन्त्रणमा पहल गर्ने, नेपाल सरकारले तोकेको बाहेकका कुनैपनि विषादी आयातमा नियन्त्रण गर्दै कृषि एवं पशुजन्य उत्पादनमै शुद्धता ल्याउन पहल गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि भूमिका निर्वाह गर्ने, जैविक विषादी प्रयोगका लागि कृषकहरुलाई प्रोत्साहित गर्न र जैविक विषादी प्रयोगबाट हुने फाइदाका बारेमा सचेतना फैलाउन भूमिका खेल्ने प्रतिवद्धता उपस्थित सवैले गरेका छन् । 

 त्यस्तै प्रयोगशाला व्यवस्थापन एवम दक्ष जनशक्ति वृद्धिका जिल्ला प्रशासन कार्यालयले संघीय निकायका जिल्ला स्थित सबै सरकारी निकाय, स्थानीय सरकार र सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्ने, चाडवाडको समयमा कृतिम अभाव, मिसावट, मूल्यवृद्धि, कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई निरन्तरता दिदै दोषीलाई स्पोर्ट कारबाही गर्ने र असल कृषि अभ्यास र असल भेटेनरी अभ्यासका लागि आईपीएम पाठशाला सञ्चालन गर्न समन्वय र सहकार्य गर्नेसमेत उपस्थित सवैले सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पनि सकेसम्म यस अभियानलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका पश ुचिकित्सक मुकेश सिंह, खाद्य आयात निर्यात गुणस्तर नियन्त्रण कार्यालय कार्यालयका प्राबिधिक सहायक दिनेश ढुङ्गेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्ती, होटल ब्यवसायी संघ झापाका महासचिव शिव राज पौडेल, उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष शालिकराम भट्टराई, कृषिथोक बजार ब्यवस्थापन समुहका अध्यक्ष निरज ओली, बेकरी उद्योग संघ झापाका अध्यक्ष सुमन चिमरिया, झापा फलफूल तथा तरकारी उत्पादन संघ बिर्तामोडका अध्यक्ष उमाकान्त ढुङ्गेल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्वा, कन्चना सिटौलालगायतले खाद्य स्वच्छता सम्बन्धी आ–आफ्नो धारण राखेका थिए । 

नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव मायामिठु न्यौपानेले गरेकी थिइन् । अन्तरक्रिया कार्यक्रममा प्रशासन, खाद्य क्वारेन्टाइन, पशु क्वारेन्टाइन, डेरी ब्यवसायी, तरकारी, फलफूल, होटल उपभोक्ता अभियान्ता, उपभोक्तासहित पत्रकारहरुको बाक्लो उपस्थिति रहेको नारी सञ्चार झापाकी सदस्य दिपा पोखरेलले जानकारी दिइन् ।