विराटनगर।

मोरङको ग्रामथान गाउँपालिका–४ बाट नौ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यसहित बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट  संयुक्त रुपमा गत भदौ २९ गते राती ८ बजे परिचालन भएको टोलीले पक्राउ गरेको हो । 

ग्रामथान–४ कटहरा टोलस्थित महिला समुहको सामुदायिक भवनमा (बाँसको टाठी र टिनको छाना) भएको स्थानबाट जुवा खेलीरहेको अवस्थामा जुवा जन्य बस्तु र नगद रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान–४ का ५५ बर्षीय अहिलाल माझी, ग्रामथान–४ का ५९ बर्षीय शिवनारायण माझी, सुन्दरहरैंचा नगरपालिका–१ का ४५ बर्षीय जय किश्वर साह, सुन्दरहरैचा–१ का ५० बर्षीय जनककुमार मास्के, सुन्दरहरैचा–३ का ३० बर्षीय प्रताप भन्ने ईच्छा राई, लेटाङ नगरपालिका–९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका–१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ, सुनसरी धरान उपमहानगरपालिका–१५ का ४५ बर्षीय युबक राई र महोतरी गौसाला नगरपालिका–१ का ४५ बर्षीय महेश साह रहेका छन् । 

प्रहरीले जुवाको खालबाट कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाईल १५ थान र नगद १८ लाख ४९ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुको मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।