बिर्तामोड । 

झापाको अर्जुनधारा–६ स्थित महानन्द चोकमा युवकद्वारा छुरा प्रहारबाट हत्या गरिएकी युवतीको पहिचान खुलेको छ । हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिषा लोहार भएको खुलेको हो । 

युवतीलाई छुरा प्रहार गर्ने युवकको पनि पहिचान खुलेको छ । युवक कैलाली जिल्ला स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका अनिल विक भएको बुझिएको छ ।

छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ ७ बजे उनको मृत्यु भएको थियो । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।

छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।  दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ ।