झापा ।
कलाकार भिसामा युरोप पठादिने बहानामा ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) पक्राउ परेका छन् । उनलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
सीआईबीले ललितपुर महानगरपालिका–२४ धापाखेल घर भइ काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय इकु भनिने सूर्यमान शंकरलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । उनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ हात्तिगौंडाबाट बुधबार पक्राउ गरेको हो ।
उनीमाथि विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोप छ ।
शंकरले सञ्चालन गरेको एसएमएस फिल्स प्रालिको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएर विदेश नपठाएको प्रहरीले जनाएको छ ।
विदेशी मुलुकमा भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको र रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयार हुँदैछ तयार भएपछि खबर गर्छु भनेर सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएर उनीविरुद्ध थप अनुसन्धान गरिरहेको छ ।