बिर्तामोड । 

झापा बुद्धशान्तिका योङ कम्युनिष्ट लिग (वाइसीएल) का अध्यक्ष पंकज शेर्पामाथि भएको आक्रमणलाई लिएर आज (बुधवार) आब्हान गरिएको मेची राजमार्ग बन्द फिर्ता भएको छ । आक्रमणमा संलग्नलाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै वाइसीएल नेपालले आज मेची राजमार्गमा चक्काजाम आव्हान गरेको थियो । 

बुद्धशान्तिका वाइसीएल अध्यक्ष पंकज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनामा संलग्न मेचीनगर–१२ घर भएका बालकुमार विष्ट र नविन विष्टलाई पक्राउ गरी कार्बाही गर्नका लागि दबाब दिन वाइसीएलले मेची राजमार्गमा चक्काजाम गर्ने चेतावनी दिएको थियो । 

पूर्वाञ्चल ट्याक्सी व्यवसायी संघका अध्यक्षसमेत रहेका बालकुमार विष्ट र उनका भाइ नबिन विष्टले एक्कासि घरेलु हतियार, बाईकको हेल्मेटले शेर्पालाई अन्धाधुन्ध प्रहार गरी घाइते बनाएका वाइसीएल प्रदेश अध्यक्ष कुमार आचार्यले जानकारी दिए । घाइते शेर्माको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । शेर्मामाथि गत आइतवार मेचीनगर–१२ स्थित सहरेडाँगी उत्तर सडकमा आक्रमण भएको बताइएको छ ।  

मेची राजमार्ग चक्काजामको जानकारी पाएलगत्तै नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका प्रतिनिधिहरुबीच छलफल भएर मौखिक सहमति भएकोले वाइसीएलले चक्काजाम स्थगित गरेको बताइएको छ । उनीहरुबीच आज बिहान लिखित सहमति हुने जनाइएको छ । पार्टी प्रतिनिधिबीच सहमति भएको कुरा सुनेर आफूहरुले चक्काजाम स्थगित गरेको वाइसीएल नेपाल झापाका अध्यक्ष डेबिट शाही ठकुरीले बताए ।