सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शिवाकोटी देशभरका महिला जनप्रतिनिधिहरुबाट छानिने ‘शी लिड्स आइकन’ मा छनौट भएकी छिन् ।
महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले संचालन गरेको ‘शी लिड्स आइकन–२०८१’ को उत्कृष्ट २७ मा कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटी छनोटमा परेकी हुन् । शिवाकोटीलाई ‘हामी रोज्दैछौं हाम्रा प्रतिनिधि’ भन्ने नाराका साथ देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्व सामु परिचित गराउने उद्देश्यले लिइएको आवेदन मध्येबाट उत्कृष्ट २७ छनोट गरिएको हो ।
‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिता’ क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरूमा पहिलो चरणको छनौटमा परेका २७ मध्ये उत्कृष्ट तीन जना कार्यक्रमको अन्तिम चरणको छनोटमा पर्ने जनाइएको छ ।
महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहका १४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको र त्यसमध्ये २७ जना महिला जनप्रतिनिधिलाई जनमतका लागि छनोट गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले जानकारी दिइन् ।
यस अन्तर्गत कोशी प्रदेशबाट २४ जना, मधेश प्रदेशबाट १४ जना, बागमती प्रदेशबाट १२ जना, गण्डकी प्रदेशबाट ११ जना, लुम्बिनी प्रदेशबाट ३६ जना , कर्णाली प्रदेशबाट १६ जना र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको संस्थाका कार्यक्रम विकास प्रमुख सम्राट थापाले जानकारी दिए ।
राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरुलाई जनमतका लागि छनोट गरेको हो । कोशी प्रदेश अन्तर्गत झापाको कनकाई सहित दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाईँ समेत उत्कृष्ट २७ को छनौटमा परेकी छिन् । अब अन्तिम तीनको छनोट मंसिरसम्ममा हुने संस्थाले जनाएको छ । नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत यो कार्यक्रम अघि बढेको जनाइएको छ ।
देशभरका महिला जनप्रतिनिधीहरूको बिचमा प्रतिस्पर्धि र समन्वयकारी भावनाको विकास गराई समाज विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यका साथ आयोजित कार्यक्रमले नेपाली महिला जनप्रतिनिधीहरूको बिगत, वर्तमान र भविष्यको उर्जाशिल कर्मगाथा हेरेर विश्व भरका महिलाहरुमा प्रेरणा र हौसला पुग्ने अध्यक्ष कोईरालाको भनाई छ।
नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेद, दमन, अपहेलना र अमानवियता समेतलाई सामना गर्दै राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न सफल जनप्रतिनिधि महिलाहरु आईकनको प्रतिस्पर्धामा छनौट भएको वताएको छ ।