बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगरको पाठा वितरण गरेको छ ।नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमुना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरलाई माछामासुमा आत्मनिर्भर बनाउने योजना अनुसार मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिएको बताए। मेहेनत गर्दा वंगुरबाट मनग्य आम्दानी लिन सकिने भएकोले व्यवसायिक बन्न उहाँले आग्रह गरे ।
यसैबीच वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले बंगुरका पाठाबाट मनग्य आम्दानी लिनसकिनेमा आफु विश्वस्त रहेको बताए। उनले आगामी दिनमा कृषक महिलाहरुको क्षमता विकासका लागि अन्य कार्यक्रमहरुको आयोजना गर्ने धारणा राखे ।
नगरपालिकाले गएको आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अनुसार पाठा वितरण गरेको हो । कार्यक्रममा बोल्दै पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले आर्थिक वर्ष २०७४/७५ यता नगरपालिकाले
१ करोड ४४ लाख रुपैयाँ बराबरको बंगुर र बाख्राका खोर निर्माणमा खर्च गरिसकेको जानकारी दिए। उनले बंगुरपालनबाट कृषकले मासिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए।
कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा नम्बर २ का वडासदस्य ओमनाथ गौतम, चेतन बिमलीलगायतको उपस्थिति रहेको थियो ।