बिर्तामोड ।
झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आज (मंगलबार) देखि दोस्रो जुत्ता चप्पल मेला शुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महातारा प्रसाईले उद्घाटन गरेकी छन् । मेला उद्घाटन गर्दै मेयर प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरिन् ।
गतबर्ष आयोजना गरेको मेलामा अवलोकन कर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यसबर्ष पनि मेला आयोजना गरेको हो । मेलामा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिएका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक ‘नेपाली जुत्ता घर’ रहेको छ ।
‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल छन् । मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् ।
एक महिनासम्म सञ्चालन हुने मेलामा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।
मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने आयोजकका नानीराज घिमिरेले जानकारी दिए । उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, आयोजकका तर्फबाट दिपेन्द्र राउत, जनप्रतिनिधि उमेश राउतलगायतको उपस्थिति रहेको थियो ।