झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित भन्सार गेट पछाडि भारतबाट भारतीय तीन वटा कारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।  नेपालतर्फ आउँदै गरेका WB74N6878, WB74P7799 र  WB74N8562  भारतिय नम्बरका कारहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त कारहरुबाट भन्सार छलेर  नेपालतर्फ ल्याउदै गरेको तीन लाख ९९ हजार १०० रुपैयाँ मूल्य बराबरको बिभिन्न कपडासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन वटा कारसहित २ जनालाई शनिवार ४ः३० बजेको समयमा पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कार नम्बर WB74N6878 र चालक भारतको दार्जिलिङ पानी ट्याङकी का ४२ बर्षिय रामदयाल बर्मन र कार नम्बर  WB74P7799  कार चालक सोही स्थानका ३३ बर्षिय अमित राय र ३, कार नम्बर WB74N8562 कार चालक ४६ बर्षिया राजकुमार घोस छन् ।

कारमा भन्सार छलेर ल्याउँदै गरेको पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेकोले सो सामानहरुसहित .२४ लाख मूल्य बराबरको उक्त ३ वटा कारहरु र सोही स्थान बस्ने कार चालकहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

त्यसैगरि शनिवार साँझ ७ बजेको समयमा मेचीनगर–६ मेचिपुलस्थित हुँदै नेपालबाट भारततर्फ भन्सार छलेर लुकाई छिपाई लाँदैं गरेको सिल्क एण्ड साईन क्रिम १२१ पिस र भारतबाट नेपाल तर्फ ल्याउदैं गरेको बिभिन्न किसिमका किराना सामानहरु एक लाख ५१ हजार रुपैयाँ बरावरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएको उक्त सामान तथा गाडीहरु जम्मा २९ लाख ५० हजार १०० मूल्य बराबरको र चालकहरुलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।